काठमाडौं वैशाख ४ गते।
हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ।
हिमाली क्षेत्रमा सामान्यतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतः सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। अन्य प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको छ। अन्य प्रदेशका तराई क्षेत्रको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी बढ्ने सम्भावना रहेको छ।












Discussion about this post