बाँके, भदौ १६ गते ।
नेपालगञ्जका घसियारन महिलाले सालको पात संकलनमा सहज व्यवस्था, उत्पादनको उचित मूल्य र बजार मागेका छन्। पात संकलन गर्न सामुदायिक वनमा जाँदा समस्या हुने र दिनभर मेहनत गर्दा पनि तीन–चार सय रुपैयाँ मात्र आम्दानी हुने उनीहरूको गुनासो छ।
घाँस बेच्ने पुख्र्यौली पेशा हराएपछि उनीहरू सालको पातमा निर्भर भएका हुन्। तर पात संकलनदेखि बिक्रीसम्म उनीहरूले समस्या भोग्दै आएका छन्।
नेपालगञ्ज–८, महेन्द्र पार्कनजिकैको घसियारन टोलकी ६० वर्षीया चमारन केवट बिहानै सालको पात बोकेर त्रिभुवन चोक पुग्छिन्। उनी पातका मुठा बेच्छिन्। ग्राहकले मागे दुनाटपरी र टपरी पनि बनाउँछिन्। “पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ,” उनले भनिन्, “अहिले घाँस बिक्री हुन छोड्यो। त्यसैले पात बेचेर गुजारा चलाउँदै आएका छौँ।”
सालको पातबाट दुनाटपरी बनाउने सीप उनले पुर्खाबाट सिकेकी हुन्। उनका छोराहरूले बिहान उनलाई सघाउँछन्। दिउँसो फर्निचरको काम गर्छन्। “उब्जनी गर्ने जग्गा छैन। पेट पाल्न मजदुरी गर्नैपर्छ,” उनले भनिन्।
पात टिप्न १७ किलोमिटरसम्म हिँड्नुपर्छ
सालको पातका लागि महिलाहरू जंगल पुग्नुपर्छ। कतिपय १६ देखि १७ किलोमिटरसम्म पैदल हिँडेर पात टिप्छन्। बोकेर बजार फर्किन्छन्। उनीहरूको आफ्नै वन छैन। सामुदायिक वनमा पुगेर पात टिप्नुपर्छ। अनुमति नहुँदा लुकिछिपी पात टिप्नुपर्ने उनीहरू बताउँछन्।
घसियारन टोलकी ४५ वर्षीया रेखा केवट शमशेरगञ्जबाट पात ल्याएर नेपालगञ्जमा बिक्री गर्छिन्। श्रीमानको मृत्यु भएपछि घर चलाउने जिम्मेवारी उनकै काँधमा छ।
“पात बिक्री भएपछि दिनमा तीनदेखि चार सय रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भनिन्। उनका अनुसार पात टिप्दा वन हेरालुले भेटाए एक सयदेखि पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ। “दिनको चार सय रुपैयाँ जति कमाइले सबै कुरा चलाउनुपर्छ। बचत गर्नै पाइँदैन,” उनले भनिन्।
घाँसको पेशा हराएपछि पातमा निर्भर
घसियार समुदायको पुख्र्यौली पेशा घाँस बिक्री गर्नु हो। सहर विस्तार, खुला जमिनको कमी र पशुपालनमा आएको परिवर्तनसँगै घाँस बिक्रीको काम घटेको उनीहरू बताउँछन्। घाँसको काम घटेपछि उनीहरू सालको पात टिपेर बिक्री गर्न थालेका हुन्।
त्रिभुवन चोकमा बिहान करिब सात जना महिला पात बिक्री गर्न आउँछन्। एउटा मुठा पात करिब ३० रुपैयाँमा बिक्री हुन्छ। उनीहरूले पातसँगै दुनाटपरी र टपरी पनि बनाउँछन्। वर्षामा जंगल जान कठिन हुँदा आम्दानी घट्छ। अन्य समयमा पनि पात संकलन र बजारको समस्या रहन्छ।
सालको पातबाट बनेका दुनाटपरी वातावरणमैत्री सामग्री हुन्। तर यसलाई व्यावसायिक रूपमा अघि बढाउन नसकेको महिलाहरू बताउँछन्। उनीहरूले सामुदायिक वनसँग समन्वय गरी पात संकलनको सहज व्यवस्था, दुनाटपरी बनाउने तालिम, सहुलियत ऋण, उत्पादनको उचित मूल्य र बजारको व्यवस्था माग गरेका छन्।
उनीहरूका अनुसार यस्ता व्यवस्था भए सालको पात बिक्रीलाई नियमित आम्दानीको स्रोत बनाउन सकिन्छ।










Discussion about this post