बाँके, भदौ ३० गते ।
सशस्त्र प्रहरीले बाँकेको खजुरा क्षेत्रबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुलहित एउटा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा चेकजाँच गर्ने क्रममा ट्रामाडोल बरामद भएको हो। प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए।
बरामद ट्रामाडोल र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको जनाइएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँचका साथै तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा नाकामा निगरानी बढाउनुका साथै अवैध रूपमा भित्रिने सामान र लागूऔषध नियन्त्रणमा विशेष चेकजाँच भइरहेको सशस्त्र प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीमा एसपी भीमबहादुर चन्दले नेतृत्व सम्हालेपछि सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई थप व्यवस्थित बनाइएको एक सशस्त्र प्रहरी अधिकृतले बताए। उनका अनुसार सीमा क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार र अन्य सीमा अपराध नियन्त्रणका लागि निगरानी बढाइएको छ।
नं. ३० गणले पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा चेकजाँचलाई प्राथमिकता दिँदै आएको जनाएको छ। आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउने सशस्त्र प्रहरीको भनाइ छ।









Discussion about this post