बाँके, असोज ११ गते ।
बर्दियामा दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन वटा कच्ची घरमा क्षति पुगेको छ । घरका भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी, डुबान तथा अन्य जोखिमलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङ गरिएको बताए । वर्षा निरन्तर भइरहेकाले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको उनले बताए ।
वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चार कोठे इँटा–माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ । भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर एउटा बङ्गुर मरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चार कोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ । बारबर्दिया नगरपालिका–९ खैरेनीमा पनि दुई कोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकका पाँच वटा कच्ची घरमा पानी पसेको छ । प्रभावित परिवारलाई प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा उद्धार गरी छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । उनलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा परेका छन् । नदीको जलसतह खतरा तह पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको प्रहरीले जनाएको छ ।
कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर ८ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार हुने जनाइएको छ । हाल नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले बताइन् । वर्षा निरन्तर भइरहेकाले जलसतह भने बढिरहेको उनले बताइन् ।
त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले बताए ।











Discussion about this post