बाँके, असोज १५ गते ।
राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको छ।
राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित ‘बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना’ र सोनाहा विकास समाज तथा गुड नेबर्स इन्टरनेसनलको संयुक्त साझेदारीमा कार्यक्रम गरिएको हो।
नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बडघर, विकास साझेदार तथा सञ्चारकर्मी सहभागी थिए।
कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, गुड नेबर्स इन्टरनेसनलकी अनुगमन, मूल्याङ्कन, जवाफदेहिता तथा सिकाइ संयोजक विष्णुकुमारी बराल र सोनाहा विकास समाजकी कार्यक्रम संयोजक रत्न केसीलगायतको उपस्थिति थियो।
सुरक्षित भविष्य परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल तथा क्षेत्रगत अनुगमनकर्ता रेणुका चन्द, दीक्षा बिष्ट, प्रमिशा चौधरी र सञ्जिता रिजाललगायत परियोजनाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रमको सहजीकरण टीकानाथ गोसाईले गरेका थिए।
अन्तरक्रियामा राजापुर नगरपालिकाको विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा गरिएको थियो। शैक्षिक सुधारका लागि भएका प्रयास, उपलब्धि, विद्यमान समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको थियो।
बालबालिकाको सिकाइ उपलब्धि सुधार, विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यालय प्रशासनको प्रभावकारिता, अभिभावकको सहभागिता र समुदायको भूमिकाका विषयमा सहभागीहरूले धारणा राखेका थिए।
छलफलमा बालविवाह, प्रविधिको अस्वस्थ प्रयोग, कुलत तथा दुव्र्यसनजस्ता समस्याले बालबालिकाको शिक्षा तथा समग्र विकासमा पार्न सक्ने प्रभावबारे समेत चर्चा भएको थियो।
यस्ता समस्या न्यूनीकरणका लागि विद्यालयमा बालमैत्री र सुरक्षित सिकाइ वातावरण निर्माण गर्नुपर्ने, शिक्षक तथा विद्यालय प्रशासनलाई थप जवाफदेही बनाउनुपर्ने तथा अभिभावक र समुदायको सहभागिता बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
नगर उपप्रमुख मनकला कुमारी चौधरीले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको बताइन्। उनले विद्यालयको शैक्षिक वातावरण सुधारसँगै बालबालिकाको सिकाइ उपलब्धिमा समेत ध्यान दिनुपर्ने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले शैक्षिक सुधारका कार्यक्रमलाई योजनाबद्ध र परिणाममुखी बनाउनुपर्ने बताए। उनले स्थानीय तहका शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बालबालिकाको शिक्षा र संरक्षणका सवालमा स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताए। उनले शैक्षिक गुणस्तर सुधारलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
अन्तरक्रियामा सहभागीहरूले नियमित पठनपाठन, सिकाइ उपलब्धि सुधार, विद्यालय व्यवस्थापन, शिक्षकको उत्तरदायित्व, बालमैत्री वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढीकरणका विषयमा सुझाव दिएका थिए।
सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा शैक्षिक सुधारसम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा समेट्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमले राजापुर नगरपालिकाको शैक्षिक अवस्था, उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी सुधारका लागि आवश्यक कार्यदिशा पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
गुणस्तरीय शिक्षा विद्यालयको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, शिक्षक, अभिभावक, समुदाय तथा विकास साझेदारको साझा दायित्व भएको भन्दै सहभागीहरूले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए।
सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाको शिक्षा, संरक्षण र समग्र विकासका लागि स्थानीय सरकार तथा विभिन्न सरोकारवालासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधार, बालअधिकार प्रवद्र्धन तथा सुरक्षित र समावेशी वातावरण निर्माणका क्षेत्रमा काम गर्दै आएको छ।










Discussion about this post