काठमाडौं, असोज २६ गते ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र नभई नागरिकको विश्वासमा निहित रहेको बताएका छन्।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
साइबर अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौती सामना गर्न प्रहरीको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ। उनले सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गर्दा मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्कीले बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई कानुन निष्पक्ष रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए। कानुन लागू गर्नु मात्र पर्याप्त नभई त्यसको प्रक्रिया पनि पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्ने उनले बताए।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडितकेन्द्रित व्यवहार अपनाउनुपर्नेमा पनि उनले जोड दिए।
नागरिकले प्रहरीको निर्णयमा असहमति जनाए पनि प्रहरीको व्यवहारप्रति निष्पक्षताको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।










Discussion about this post