दाङ, असोज ३० गते ।
दसैँ नजिकिएसँगै धान भित्र्याउने चटारो बढेको छ । खेतमा धान पाकेको छ । तर, गाउँमा धान काट्ने कामदार पाउन कठिन हुन थालेपछि किसानले कृषि यन्त्रको प्रयोग बढाएका छन् । रिपर र थ्रेसरको सहायताले किसानले छोटो समयमै धान काट्ने, दाइँ गर्ने र घरमा भित्र्याउने गरेका छन् ।
दाङको गढवा गाउँपालिका–५, बोधिपुरका पतिराम चौधरीले विगत चार वर्षदेखि २२ कट्ठा जमिनमा धानखेती गर्दै आएका छन् । पहिले परिवारका सदस्य र गाउँका मानिस मिलेर धान काट्ने चलन थियो । पालैपालो खेतमा काम गर्दा सात–आठ दिनमै धान काटेर घरमा भित्र्याउन सकिन्थ्यो ।
पछिल्लो समय परिवारका सदस्य घट्दै गए । गाउँमा खेतमा काम गर्ने मानिस पनि पाउन कठिन हुन थाल्यो । त्यसपछि उनलाई धान काट्न समस्या हुन थाल्यो । अहिले गाउँमै रिपरको सुविधा उपलब्ध भएपछि भने धान भित्र्याउन सहज भएको छ ।
चौधरीका अनुसार पहिले धान काटेर घरमा भित्र्याउन सात–आठ दिन लाग्थ्यो । अहिले कृषि यन्त्रको प्रयोग गर्दा तीन–चार दिनमै धान काट्ने, दाइँ गर्ने र घरमा भित्र्याउने काम सकिन्छ ।
“सानो परिवार भए पनि प्रविधिको विकासले खेती गर्न सजिलो भएको छ,” उनले भने, “धान काट्नेदेखि दाइँ गर्नेसम्मको काम प्रविधिले गर्ने गरेको छ ।”
दसैँ सुरु भइसकेकाले धान काट्न कामदार नपाएपछि बोधिपुरकै किसान लालबहादुर रावतले पनि रिपरको प्रयोग गरेका छन् । उनले १० कट्ठा खेतको धान रिपरबाट काटेका हुन् ।
दसैँअघि नै पाकेको धान भित्र्याउने तयारी गरेका रावतले अब थ्रेसरबाट दाइँ गर्ने बताए । “घरपरिवारले मात्र दसैँअघि धान काटेर भित्र्याउन सक्ने अवस्था थिएन । त्यही भएर रिपरको सहायताले धान काटेँ,” उनले भने, “अब थ्रेसरबाट दाइँ गर्ने तयारी छ ।”
रावतका अनुसार रिपरले धान काटेको प्रतिघण्टा एक हजार आठ सय रुपैयाँ र थ्रेसरले दाइँ गरेको प्रतिघण्टा तीन हजार तीन सय रुपैयाँ लिने गरेका छन् ।
गाउँमा थोरै खेती गर्ने र परिवारका सदस्य धेरै भएका किसानले अझै पनि आफैँ धान काट्ने र बोक्ने गरेका छन् । तर, अधिकांश किसानले रिपरबाट धान काट्ने र खेतमै थ्रेसर लगाएर दाइँ गर्ने गरेको रावतले बताए ।
धान काट्ने मौसम सुरु भएसँगै गढवा गाउँपालिका–५, गढवाका तुलाराम चौधरीलाई पनि कामको चाप बढेको छ । उनका अनुसार कृषि यन्त्रको प्रयोगबाट कम खर्चमा छोटो समयमै धान भित्र्याउन सकिने भएकाले किसान यान्त्रिकीकरणतर्फ आकर्षित भएका छन् ।
कृषि यन्त्रले श्रम र समय बचाउनुका साथै बाली भित्र्याउने कामलाई छिटो बनाएको तुलारामले बताए । समयमै धान भित्र्याउनुपर्ने र कामदारको अभाव हुने अवस्थामा यन्त्रको प्रयोग किसानका लागि सहज विकल्प बनेको उनको भनाइ छ ।
समथर खेत भएका ठाउँमा केही किसानले कम्बाइन हार्भेस्टर प्रयोग गरेर एकैपटक धान काट्ने र दाइँ गर्ने गरेका छन् । तर, अधिकांश ठाउँमा रिपरबाट धान काट्ने र थ्रेसरबाट दाइँ गर्ने चलन रहेको तुलारामले बताए ।
कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै जाँदा धानखेतीमा यन्त्रको प्रयोग उपयोगी बन्दै गएको छ । दसैँअघि नै बाली भित्र्याउनुपर्ने चटारोका बीच रिपर र थ्रेसरले किसानलाई समयमै धान घरमा पु¥याउन सहयोग गरेका छन् ।













Discussion about this post