बाँके, कात्तिक ४ गते ।
नेपालीले आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजयादशमी पर्व मनाउँदैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका ग्रहणका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।
समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिनेछ।
टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्केर बस्नुपर्ने समितिले जनाएको छ।
विजयादशमीका दिन नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ। यस अवसरमा परिवारका सदस्य तथा आफन्त एकै ठाउँमा भेला भएर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन्।
नेपाली समाजमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने परम्परा रहिआएको छ।










Discussion about this post