बाँके कात्तिक ५ गते ।
बाँकेमा दुर्गा भवानीको मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा सम्पन्न भएको छ। घटस्थापनाका दिन नेपालगन्जका विभिन्न चोक तथा गल्लीमा स्थापना गरिएका दुर्गा भवानीका मूर्ति बिहीबार दिउँसोदेखि राप्ती नदीस्थित सिधनिया घाटमा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन कार्यक्रम बेलुकीसम्म जारी रहेको थियो।
दुर्गा मूर्ति विसर्जनका क्रममा निकालिएको र्यालीलाई व्यवस्थित र सुरक्षित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। सम्भावित अप्रिय घटना रोक्न ड्रोनबाट निगरानी गर्नुका साथै संवेदनशील क्षेत्र, घरका छत तथा सडकका विभिन्न स्थानबाट समेत सुरक्षा निगरानी गरिएको थियो।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार मूर्ति विसर्जन र्यालीको सुरक्षाका लागि एक हजार १०० भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको थियो। त्यसैगरी, सशस्त्र प्रहरी बलका ३५० भन्दा बढी सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।
संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको एसपी जिसीले बताए। सुरक्षा निकाय, स्थानीयवासी तथा विभिन्न धर्म र समुदायका अगुवाको सहयोगले कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे।
‘सबैको साथ र सहयोगले दुर्गा मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सहयोग गर्ने सबैलाई धन्यवाद,’ एसपी जिसीले भने।
मूर्ति विसर्जन कार्यक्रमको सुरक्षा व्यवस्थाको अवलोकन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख एसपी जिसी, सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी भीमबहादुर चन्दलगायत सुरक्षा निकायका प्रमुखहरू सिधनिया घाट तथा र्याली व्यवस्थापनका क्रममा खटिएका थिए।
घटस्थापनादेखि सुरु भएको दसैँ अवधिमा कुनै अप्रिय घटना नभएको एसपी जिसीले बताए। र्यालीलाई व्यवस्थित बनाउन चोक–चोकमा ट्राफिक प्रहरी परिचालन गरिएकाले सडक जामको समस्या पनि हुन नपाएको स्थानीयवासीले बताएका छन्।
नेपालगन्ज–४ का मेराज हल्वाई (हिमालय)ले मूर्ति विसर्जनका क्रममा बाँके प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। प्रहरीको सक्रियताका कारण र्याली व्यवस्थित हुनुका साथै कार्यक्रम शान्त, मर्यादित र भव्य रूपमा सम्पन्न भएको उनको भनाइ छ। ‘बाँके प्रहरीको सक्रियताले दुर्गा मूर्ति विसर्जन कार्यक्रम शान्त, मर्यादित र भव्य रूपमा सम्पन्न भएको छ,’ उनले भने।
यसैबीच, बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले दुर्गा मूर्ति विसर्जनका क्रममा विभिन्न धर्म र समुदायका व्यक्तिले देखाएको सद्भाव र सहकार्यले नेपालगन्जको धार्मिक सहिष्णुतालाई थप बलियो बनाएको बताए। उनका अनुसार मुस्लिम, सिख, इसाईलगायत विभिन्न धर्ममा आस्था राख्ने समुदायका अगुवा तथा सर्वसाधारणले सडक किनारमा उपस्थित भएर र्यालीको स्वागत गरेका थिए।
‘मूर्ति विसर्जनका क्रममा निकालिएको र्यालीलाई सभ्य र मर्यादित बनाउन सबै धर्म र आस्था राख्ने सर्वसाधारण, अगुवा एवं बुद्धिजीवीको साथ, सहयोग र समन्वय पाएका छौँ,’ तामाङले भने, ‘नेपालगन्जलाई सद्भावको सहरका रूपमा स्थापित गराउन सबैको साथ र सहयोग रहेको छ।’
उनले सबै धर्म र सम्प्रदायबीचको आपसी सद्भाव, सहिष्णुता र सहकार्यका कारण मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गरे। साथै, र्याली सफल बनाउन सहयोग गर्ने सबै समुदाय, अगुवा, सर्वसाधारण र सुरक्षा निकायलाई धन्यवाद दिए।
विभिन्न धर्म र समुदायका व्यक्तिले एकअर्काको धार्मिक आस्थाको सम्मान गर्दै देखाएको सहकार्यले नेपालगन्जको धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको छ। सुरक्षा निकायको समन्वय र स्थानीयवासीको सहयोगमा दुर्गा मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।











Discussion about this post