बाँके, कात्तिक ३० गते ।
उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ। सोमबार बिहान नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरको तलाउमा भेला भएका व्रतालुहरूले सूर्यलाई अघ्र्य दिएपछि चारदिने छठ पर्व विधिपूर्वक सम्पन्न भएको हो।
छठको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन भएको हो। बिहानैदेखि बागेश्वरी तलाउमा व्रतालु र श्रद्धालुको उल्लेख्य भीड लागेको थियो।
छठ पर्वका लागि बागेश्वरी मन्दिर परिसरको तलाउलाई सजाएर छठी घाट बनाइएको थियो। घाटमा टेन्ट, विद्युत् बत्ती, सरसफाइ तथा भजनकीर्तनको व्यवस्था गरिएको थियो। व्रतालुहरूले परम्परागत विधिअनुसार पूजा गरी सूर्यलाई अघ्र्य दिएका थिए।
छठ पर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सुन्दरकाण्ड मित्रमण्डलका व्यवस्थापक जितेन्द्रकुमार सिंहले नेपालगन्जमा पछिल्ला वर्षमा छठ पर्वको आकर्षण बढ्दै गएको बताए। उनका अनुसार करिब दुई दशकअघि सुरु भएको छठ मनाउने परम्परा अहिले विस्तार हुँदै गएको छ।
‘पहिले मिथिला क्षेत्रमा बढी मनाइने छठ अहिले नेपालगन्जमा पनि व्यापक बन्दै गएको छ,’ उनले भने, ‘हरेक वर्ष व्रतालु र श्रद्धालुको संख्या बढिरहेको छ।’
रोजगारी तथा अन्य कामको सिलसिलामा मिथिला क्षेत्रका बासिन्दा नेपालगन्ज आउन थालेपछि यहाँ छठ मनाउने परम्परा सुरु भएको सिंहले बताए। विवाह गरेर नेपालगन्ज आउने महिलाहरूको संख्या बढ्दै जाँदा पनि पर्व विस्तार भएको उनको भनाइ छ।
पहिले जनकपुर, महोत्तरी, सप्तरीलगायत मिथिला क्षेत्रका जिल्लामा विशेष रूपमा मनाइने छठ पछिल्लो समय पश्चिम नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएको छ। नेपालगन्जमा बागेश्वरी मन्दिर परिसरको तलाउ छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा विकास हुँदै गएको छ।
चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन नुहाएर चोखो भई सात्त्विक भोजन गर्ने, दोस्रो दिन खरना विधिअन्तर्गत प्रसाद ग्रहण गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ।
सूर्यदेव र छठी माताको पूजा आराधना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ।










Discussion about this post