बाँके, मंसिर १ गते ।
नेपाल युवा क्लब बाँकेको १५औँ साधारणसभा तथा दोस्रो खुला नृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। खजुरा गाउँपालिका–२ स्थित खजुरा बाल संरक्षण गृहमा आयोजित कार्यक्रममा संस्थाको गतिविधिको समीक्षा, आगामी कार्ययोजना र बालबालिकाको संरक्षणका विषयमा छलफल गरिएको हो।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता क्लबका केन्द्रीय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईले गरेका थिए। कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।
साधारणसभामा क्लबले गरेका गतिविधिको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको अध्यक्ष हल्वाईले बताए। संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए।
त्यस्तै, खजुरा बाल संरक्षण गृहको व्यवस्थापन र त्यहाँ रहेका बालबालिकाको हकहित तथा संरक्षणका विषयमा समेत छलफल गरिएको थियो।
साधारणसभासँगै आयोजित खुला नृत्य प्रतियोगितामा सहभागीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा अञ्जलिना बुढा प्रथम, मरियम बानो द्वितीय र सारा परियार तृतीय भएका छन्। विजयी प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले बालबालिका तथा युवामा लुकेको प्रतिभा पहिचान गर्न र उनीहरूको आत्मविश्वास बढाउन सहयोग पुग्ने क्लबले जनाएको छ। कला तथा संस्कृतिको संरक्षणसँगै युवालाई सिर्जनात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
बालबालिकाको संरक्षण, युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा क्लबले आफ्ना गतिविधि निरन्तर अघि बढाउने जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, सहयोगी दाता, निर्णायक, प्रतियोगी, अभिभावक तथा शुभचिन्तकलाई क्लबले धन्यवाद दिएको छ।










Discussion about this post