बाँके साउन १८ गते ।
खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु शाहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । इन्जिनियर शाहले भन्नुभयो, “साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।” पालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये केही योजनाको टेन्डरसमेत आह्वान गरिसकेको छ ।
यसै गरी उपभोक्ता समिति र टोल विकास समितिमार्फत सञ्चालन हुने आयोजनाको कामसमेत दशैँअगावै सम्झौता गरी कार्यान्वयन गरिसक्ने लक्ष्य गाउँपालिकाको छ । दशैँसम्म सम्पूर्ण योजनाको ठेक्का आह्वान गरी सम्झौता गरिसक्ने तयारीका साथ सम्पूर्ण जनशक्ति परिचालन भएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो । अघिल्ला आवमा ढिलो गरी काम सुरु भएका कारण विकास बजेट न्यून मात्रामा खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष साउन सुरुवातदेखि नै योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेको हो । खजुरा गाउँपालिकामा गत वर्ष विकास बजेट ६९ प्रतिशत मात्रै खर्च भएको हो ।
अध्यक्ष विकले भन्नुभयो, “अघिल्लो आवभन्दा विकास बजेट बढी खर्च भए पनि यसलाई थप वृद्धि गराउन अहिलेदेखि तयारी थालिएको हो ।” वडागत र पालिकास्तरीय तथा अन्य गरी वार्षिक करिब चार सय वटा योजनाका लागि रकम विनियोजन हुने गरेको छ ।
सङ्घ सरकार र प्रदेश सरकारबाट आउने अनुदानका योजना भदौभित्र यकिन भएपछि छिटोभन्दा छिटो कार्यान्वयनमा लैजाने पालिकाले जनाएको छ । वडामा सञ्चालित हुने योजनामा उपभोक्ता समिति र ठेक्कामार्फत हुने कामको वडा कार्यालयले समयमै समन्वय र सहकार्य गरेमा साना योजना पुस महिनाभित्र सम्पन्न भइसक्ने छन् । गोरखापत्र अनलाइन
Discussion about this post