बाँके भदौ ३ गते ।
बाँके र बर्दियामा जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म करिब तीन हजार घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहका अनुसार प्रदेश सरकार स्थापना भई कार्यालय सञ्चालनमा आएपछि दुई जिल्लामा तीन हजार १०० घर निर्माणका लागि हस्तान्तरण भइआएकोमा करिब सात बर्षको अवधिमा तीन हजार घर निर्माण गरिसकिएको छ ।
कार्यालयका अनुसार बाँकेमा एक हजार ८०० र बर्दियामा एक हजार ३०० घर निर्माणका लागि सङ्घीय सरकारबाट हस्तान्तरण भएको छ । जसमध्ये बाँकेमा ५६ र बर्दियामा ४८ गरी १०४ वटा घरमात्र निर्माण गर्न बाँकी रहेको छ । चालु आवभित्र सम्पूर्ण घर निर्माण गरी सम्बन्धित ब्यक्तिलाई घर हस्तान्तरण गर्ने तयारी कार्यालयको छ । बाँके र बर्दियामा लक्षित दलित तथा विपन्न समुदायका लागि घर निर्माण गरिएको हो ।
विपन्न घर निर्माण गर्ने परिवारको छनौंटका लागि सम्वद्ध प्रदेशको निर्वाचित प्रदेश सांसदको नेतृत्वमा समिति रहने ब्यवस्था छ ।
प्रदेश सरकारको २०७५ मङ्सिर १८ देखि यो कार्यक्रम सुरु गरेको थियो । यसअघि सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्दैआएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि कन्टिन्जेन्सीसहित तीन लाख ५० हजार रुपियाँ पाउँछन् ।













Discussion about this post