बाँके, भदौ १ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा (एमाले) का नेता चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले आइतबारदेखि लागू हुने गरी फिर्ता लिएको हो ।
मुख्यमन्त्री आचार्यले आइतबार नै प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा समर्थन फिर्ता लिएको जानकारी दिइएको छ । पत्र लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेसहित प्रदेशसभा सदस्यहरूलाई सम्बोधन गरिएको छ ।
जसपाले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशनसमेत दिएको छ । पार्टीको निर्णयअनुसार विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरिएको महासचिव झाले जनाएका छन् ।
जसपाको समर्थन फिर्ताले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको विश्वासको मतसम्बन्धी प्रक्रियामा नयाँ राजनीतिक समीकरण बनेको छ ।










Discussion about this post