बाँके पुस २० गते ।
बाँके जिल्लाका दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।
जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते बाँकेको नौबस्ता बालसुधार गृह र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दीमध्ये हालसम्म ९७ जनालाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने ९६ जना अझै फरार रहेको सम्बन्धित प्रशासनले जनाएको छ ।
नौबस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार सुरक्षाकर्मीसँग भिडन्त गरेर भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ भने बाँकी ३९ जना अझै फरार छन् । उनका अनुसार फरारमध्ये अधिकांश भारत प्रवेश गरेको आशंका गरिएको छ र खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको छ ।
त्यस्तै, भदौ २४ गते नै डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जनामध्ये ५८ जनालाई पक्राउ गरिएको छ भने ५७ जना अझै सम्पर्कविहीन अवस्थामा छन् ।
जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार केही बालबन्दीलाई प्रहरीले पक्राउ गरेको, केहीलाई अभिभावकले बुझाएको र केहीले स्वयं आत्मसमर्पण गरेका हुन् । तर अझै ५७ जना फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए ।
फरारमध्ये अधिकांश भारतमा लुकेको आशंकाले खोजीमा कठिनाइ भइरहेको पनि उनले उल्लेख गरे ।
सरकारले फरार भएका बालबन्दी तथा कैदीबन्दीलाई सुधारगृह तथा कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिएको थियो । तर समयसीमा सकिँदा पनि धेरै बालबन्दी तथा कैदीहरू अझै फर्किएका छैनन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न समस्या भइरहेको बताए । उनका अनुसार फरार भएका अधिकांश बालबन्दी तथा कैदीहरू भारतमा लुकेको हुन सक्ने अनुमान गरिएको छ ।
उल्लेखनीय छ, भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा दुई जना घाइते भएका थिए ।











Discussion about this post