काठमाडौं चैत १७ गते।
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान काठमाडौँको सुविधानगरस्थित उनको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका रिजाललाई हाल टेकुस्थित कार्यालयमा राखिएको छ। आवश्यक थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी गरिएको पनि उनले जानकारी दिए।
रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप उनीमाथि लागेको छ।
यस सम्बन्धमा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित सम्बन्धित व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको सिफारिसकै आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि पक्राउ परिसकेका छन्।













Discussion about this post