बाँके, मंसिर ४ गते ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयलाई पत्राचार गरी मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे विवरण माग्ने प्रक्रिया अघि बढाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले पुनरावलोकन प्रक्रिया सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख युवराज पन्तले बताए ।
उनका अनुसार वडास्तरबाट मतदानस्थल तथा मतदान केन्द्रको अवस्था अध्ययन गरी सिफारिस आएपछि जिल्ला तहमा पुनरावलोकन गरिनेछ । वडास्तरीय समितिले सिफारिस गरेका मतदानस्थल र मतदान केन्द्रलाई जिल्लास्तरीय समितिले अन्तिम टुंगो लगाउने उनले बताए ।
बैठकमा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा हाल कायम रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरेको थियो । प्रस्तुत विवरणमाथि समितिका सदस्यहरूले छलफल गरेका थिए ।
पन्तका अनुसार मतदातालाई मतदान गर्न सहज हुने गरी मतदानस्थल र मतदान केन्द्रको अवस्था पुनरावलोकन गरिनेछ ।
बाँकेमा हाल १३९ मतदानस्थल र ४०० मतदान केन्द्र कायम छन् ।










Discussion about this post