बाँके, असार २० गते ।
नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका शालिकहरूको संरक्षण र पुनःस्थापनाको अभियान अन्तर्गत धम्बोझी (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको शालिक दुई दशकपछि पुनःस्थापना गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको पहलमा शुक्रबार राति कडा सुरक्षा व्यवस्थाका बीच शालिक पुनःस्थापना गरिएको हो। उपमहानगरपालिकाले विभिन्न राजनीतिक आन्दोलनका क्रममा हटाइएका वा क्षतिग्रस्त बनाइएका ऐतिहासिक व्यक्तित्व तथा शहीदहरूको शालिक पुनःस्थापना गर्ने अभियान औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
यसै अभियानअन्तर्गत गणेशमान सिंह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ र शहीद सेतु बिकका शालिक पनि उनीहरूकै नाममा रहेका स्थानहरूमा पुनःस्थापना गरिएको छ। नगर प्रमुख प्रशान्त विष्टको प्रत्यक्ष नेतृत्वमा साँझदेखि रातिसम्म पुनःस्थापनाको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ।
राजा वीरेन्द्रको शालिक २०६२/६३ सालको जनआन्दोलनका क्रममा हटाइएको तथा क्षतिग्रस्त बनाइएको थियो। त्यसयता पुनःस्थापनाको विषय पटक–पटक उठे पनि राजनीतिक सहमति नजुट्नु र सुरक्षा संवेदनशीलताका कारण करिब दुई दशकसम्म वीरेन्द्र चोक शालिकविहीन अवस्थामा रहेको थियो।
यसअघि आन्दोलनका क्रममा हटाइएको त्रिभुवन चोकस्थित राजा त्रिभुवनको शालिक भने स्थानीयवासीको पहलमा पुनःस्थापना भइसकेको छ।
लामो समयसम्म राजनीतिक आन्दोलन र असन्तुष्टिको प्रभावका कारण नेपालगन्जका केही सार्वजनिक स्मारक तथा शालिकहरू जीर्ण र अस्तव्यस्त अवस्थामा रहेका थिए। उपमहानगरपालिकाले ऐतिहासिक सम्पदा संरक्षण, सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि तथा नगरको ऐतिहासिक पहिचान जोगाउने उद्देश्यले पुनःस्थापनाको अभियान अघि बढाइएको जनाएको छ।
स्थानीयवासीले पनि ऐतिहासिक धरोहरको संरक्षण र सार्वजनिक स्थलहरूको पुनर्जीवनका लागि सुरु गरिएको यो अभियानले नेपालगन्जको सांस्कृतिक गरिमा तथा नगरको समग्र सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।











Discussion about this post