बाँके, असोज २५ गते ।
बाँकेमा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका र दोहोरो नाम समावेश भएका २ हजार ९९४ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका तथा दोहोरो नाम भएका व्यक्तिको विवरण हटाइएको बताए।
उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार २०८३ भदौ १५ गतेसम्म प्राप्त विवरण समावेश गरी नामावली अद्यावधिक गरिएको हो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बाँकेका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दा २ हजार ९९४ जनाको नाम हटाइएको जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाबाट ८२० जनाको नाम हटाइएको छ। कोहलपुर नगरपालिकाबाट ७६६, राप्तीसोनारी गाउँपालिकाबाट ३७१, खजुरा गाउँपालिकाबाट ३२० र बैजनाथ गाउँपालिकाबाट २८९ जनाको नाम हटाइएको उनले बताए।
त्यस्तै, जानकी गाउँपालिकाबाट १८६, डुडुवा गाउँपालिकाबाट १२१ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता सूचीबाट हटाइएको पन्तले जानकारी दिए।
स्थानीय तहअनुसार हटाइएका नामको विवरणमा नेपालगन्ज र कोहलपुर सबैभन्दा अगाडि छन्। यी दुई स्थानीय तहबाट मात्रै १ हजार ५८६ जनाको नाम हटाइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार मतदाता नामावली अद्यावधिकसँगै नयाँ मतदाताको नाम सूचीमा समावेश गर्ने प्रक्रिया पनि जारी छ।










Discussion about this post