दाङ, भदौ २९ गते ।
चाडपर्वको समयमा केराले राम्रो मूल्य पाएपछि दाङका केरा उत्पादक किसान उत्साहित भएका छन् । गत वर्ष उत्पादनअनुसारको मूल्य नपाएर निराश भएका किसानले यस वर्ष भने बारीबाटै राम्रो मूल्यमा केरा बिक्री गर्न पाएका हुन् ।
राप्ती गाउँपालिका–७, सिसहनियाका रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म करिब नौ लाख रुपैयाँको केरा बिक्री गरेको बताए । सिसहनियासहित देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका सुवेदीले एक महिनाको अवधिमा उक्त रकम बराबरको केरा बिक्री गरेको बताए ।
उनका अनुसार जन्माष्टमीको समयमा मात्रै करिब पाँच लाख रुपैयाँको केरा बिक्री भएको थियो । तीजका अवसरमा हालसम्म करिब चार लाख रुपैयाँ बराबरको मालभोग केरा बिक्री गरिसकेको उनले बताए ।
सुवेदीका अनुसार गत फागुनमा आएको हावाहुरीले करिब १२ हजार केराका बोट ढालेपछि यस वर्ष उत्पादनमा कमी आएको छ । उत्पादन घटे पनि बजारमा माग र मूल्य राम्रो रहेकाले किसानलाई राहत भएको उनले बताए ।
राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहेका सुवेदीले गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले राम्रो मूल्य पाएको बताए । बाहिरबाट केराको आयात घटेकाले स्थानीय उत्पादनले बजार पाएको उनको भनाइ छ ।
“गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो । यो वर्ष त्यो अवस्था हटेको छ,” उनले भने, “चाडपर्वका बेला बाहिरबाट केरा कम भित्रिएकाले स्थानीय उत्पादनले राम्रो मूल्य पाएको हो ।”
सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले पनि यस वर्ष करिब तीन लाख रुपैयाँको केरा बिक्री गरेको बताए । गत वर्ष मूल्य घट्दा उत्पादन बिक्री गर्नै समस्या भएको उनको अनुभव छ । यस वर्ष भने बारीबाटै केरा बिक्री भइरहेको उनले बताए ।
“यो वर्ष दर्जनको एक सय रुपैयाँका दरले केरा बिक्री भइरहेको छ । गत वर्ष ७० रुपैयाँमा दिँदा पनि बिक्री नहुने अवस्था थियो,” उनले भने ।
मन्जुला बहुद्देश्यीय कृषि फार्म दर्ता गरी सात वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चौधरीले फार्ममा उत्पादित केरा लमही, भालुवाङ, सिसहनियालगायत बजारबाटै किसान तथा व्यापारीले खरिद गरेर लैजाने गरेको बताए । उनले सात बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती गरेका छन् ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ४४७ हेक्टर क्षेत्रफलमा मालभोग, हरिसाललगायत जातका केरा खेती हुँदै आएको छ । जिल्लामा वार्षिक नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन हुने केन्द्रको तथ्यांक छ ।











Discussion about this post