बाँके, भदौ २९ गते ।
लामो समयदेखि राजनीतिमा सक्रिय नेपालगन्ज उपमहानगरपालिका–४ का मोहम्मद रहिस हल्वाई जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
हल्वाईले श्रम संस्कृति पार्टीको ‘श्रमदाता सहयोगी सदस्य’ का रूपमा सदस्यता लिएका हुन्। उनलाई पार्टीका संगठन प्रमुख राजन राना मगरले सदस्यता प्रदान गरेका छन्।
हल्वाईले श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिएको अभियानमा आफू पनि जोडिन चाहेकाले श्रम संस्कृति पार्टीमा आबद्ध भएको बताए।
‘राजनीतिलाई जनताको जीवनसँग जोड्नुपर्छ भन्ने मान्यताले मलाई श्रम संस्कृति पार्टीतर्फ आकर्षित गरेको हो,’ उनले भने, ‘अब श्रम र उत्पादनमार्फत समाज र देश निर्माण गर्ने अभियानमा सक्रिय भएर लाग्नेछु।’
हर्कराज साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले श्रम र उत्पादनलाई राजनीतिको आधार बनाउँदै आएको छ। पार्टीले पछिल्लो समय संगठन विस्तार र सदस्यता अभियानलाई अघि बढाइरहेको जनाएको छ।
हल्वाईको पार्टी प्रवेशले बाँकेमा संगठन विस्तारमा सहयोग पुग्ने पार्टीका संगठन प्रमुख राजन राना मगरले बताए। ‘पार्टीको विचार र अभियानप्रति आकर्षित भएर विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिने क्रम जारी छ,’ उनले भने, ‘बाँकेमा पनि संगठनलाई थप विस्तार गर्दै लैजानेछौं।’
हल्वाई लामो समयदेखि राजनीतिमा सक्रिय रहेको र यसअघि जसपा नेपालमा आबद्ध रहेको बताइएको छ। उनले जसपा नेपाल छाडेर श्रम संस्कृति पार्टी रोज्नुको निर्णयलाई भने नयाँ राजनीतिक यात्राका रूपमा लिएका छन्।










Discussion about this post