काठमाडौें, मंसिर ४ गते ।
निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने पूर्वतयारीलाई तीव्रता दिएको आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।
आयोगले मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था पुनरावलोकन गर्ने तथा आवश्यक निर्वाचन सामग्रीको विवरण संकलन गर्ने काम भइरहेको छ ।
उनले मतदानस्थल र मतदान केन्द्र मतदाताका लागि पायक पर्ने स्थानमा छन् वा छैनन् भन्ने विषयमा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलसँग छलफल गरी सुझाव लिइरहेको बताए ।
स्थानीय तहमा संयुक्त बैठकबाट प्राप्त सिफारिसलाई जिल्ला तहमा पुनरावलोकन गर्ने काम भइरहेको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको बैठकबाट मतदानस्थल र केन्द्रको अवस्थाबारे समीक्षा भइरहेको उनको भनाइ छ ।
निर्वाचनमा आवश्यक पर्ने सामग्रीको विवरण संकलन गर्ने, आयोगसँग मौज्दात रहेका सामग्रीको अवस्था जाँच गर्ने र अपुग हुने सामग्रीको परिमाण यकिन गर्ने काम पनि भइरहेको भट्टराईले बताए ।
‘निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडि गर्नुपर्ने कामहरू अघि बढाइरहेका छौँ । निर्वाचनका लागि आवश्यक सामग्री कति चाहिन्छ, हामीसँग कति मौज्दात छ र कति अपुग हुन्छ भन्ने आँकलन गरिरहेका छौँ,’ उनले भने ।
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने मिति घोषणा भएपछि मात्रै गरिने आयोगले जनाएको छ । विगतका निर्वाचनको अनुभवका आधारमा आवश्यक कर्मचारीको संख्या, उपलब्ध जनशक्ति र अपुग हुने कर्मचारीको विवरण निर्वाचन कार्यक्रम घोषणा भएपछि यकिन गरिने भट्टराईले बताए ।
उनका अनुसार अहिले आयोगले कर्मचारी व्यवस्थापनको विषयमा विशेष काम अघि बढाएको छैन ।
यसैबीच, निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले दलहरूसँगको छलफलमा आगामी निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा परामर्श गरिने बताए ।
राजनीतिक दलहरूसँगको छलफलपछि नेपाल सरकारसँग पनि परामर्श गरेर निर्वाचनको मिति र बाँकी तयारीका विषयमा थप प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ मा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदैछ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने बताउँदै आएको छ ।












Discussion about this post