बाँके, मंसिर ४ गते ।
हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्डको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको करिब दुई किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमबीच सडक निर्माण कार्यको शुभारम्भ गरे । उनले जीर्ण सडक पुनर्निर्माणसँगै फराकिलो हुँदा सहरको सौन्दर्य बढ्नुका साथै आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने बताए ।
सडक निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले निर्माण कार्यमा उपमहानगरपालिकाका तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले सडक निर्माणका क्रममा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।
निर्माण कम्पनी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक खड्काले निर्माण कार्यमा कुनै अवरोध नभए निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
हुलाकी सडक योजना कार्यालय नेपालगन्जका प्रमुख लीला बहादुर भण्डारीका अनुसार सडक निर्माणका लागि ३९ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
सडक विस्तारका लागि सडक सीमाभित्र पर्ने संरचना स्थानीयवासीले यसअघि नै हटाइसकेका छन् । संरचना हटाइएपछि सडक निर्माणको काम अघि बढेको हो ।











Discussion about this post