बाँके बैशाख १८ गते ।
नेपालगन्ज भन्सार कार्यालयले राजस्व सङ्कलनको निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि जमुनाह नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
घरायसी उपयोगका नाममा ठुलो परिमाणमा मुख्य नाकाबाटै भएर भारतबाट मालसामान भित्रिन थालेपछि भन्सारको राजश्व सङ्कलन र नेपाल तर्फको व्यापार व्यवसायमा असर पुगेकोले सो रोक्न जमुनाहाको भन्सार यात्रु शाखामा कडाई गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले भारतबाट मालसामान क्यारिङ्ग गर्नेहरुले घरायसी प्रयोगको नाममा राजस्व छलेर दिनभरि सामान ओसारेर नेपालगन्जमा विक्रि गर्ने गरिएको गुनासो आएपछि नाकामा कडाई गरिएको बताए । उनले भन्सार नाकामा कडाई गरिएपछि केही हदसम्म सीमापारीबाट राजस्व छलेर भित्र्याइने कार्यमा कमी आएको पनि बताए ।
यसअघि बाँकोका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय उद्योगी व्यवसायीहरूले भेटेर नाकामा कडाई नहुँदा राजस्व घट्नुका साथै नेपालगन्जको व्यापार पनि सुक्दै गएकोले कडाई गर्न आग्रह गरेका थिए ।
सोही आग्रह बमोजिम प्रमुख जिल्ला अधिकारी जोशीले नाकामा कडाई गरेर क्यारिंग गर्नेहरुमाथि निगरानी राखेर अवैध आयात रोक्न भन्सार कार्यालयलाई निर्देशन दिएका थिए ।
उता, अवैध आयात र तस्करी बढेकै कारण नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षहरुमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ मा पनि सुरुवातबाटै निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन ।
नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सो कार्यालयले आठ महिना लक्ष्यको ४६ दशमलब ५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।












Discussion about this post