कालीकोट बैशाख २० गते ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ मा निर्माण सम्पन्न भएको सुनथराली विमानस्थल औपचारिक उदघाटन भएको १४ महिना पुगेको छ । करिब ३७ वर्ष लगाएर निर्माण सम्पन्न भएको विमानस्थल उदघाटन भए पनि हवाईजहाज आएको छैन ।
२०८० फागुन १३ गते परीक्षण उडान र १४ गते औपचारिक उदघाटन भए पनि त्यसपछि हवाईजहाज फर्केर आएको छैन । उदघाटनका बेला तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उडानलाई निरन्तरता दिने वचन दिएका थिए । लगत्तै भाडा निर्धारणसँगै सुदूरपश्चिमको धनगढी र सुर्खेत नेपालगञ्जबाट हवाईजहाजले उडान भर्नेसम्मको कुरा चलेको थियो तर उदघाटन भएपछि एक दिन पनि हवाईजहाज फेरि अवतरण नगरी १४ महिना बितेका छन् ।
कोटवाडाका स्थानीय सतल विष्टले मन्त्रीले रिबन काट्ने, भोजभतेर गर्ने र नेताले विमानस्थल उदघाटन हाम्रो पालामा भयो भनेर भाषण गर्नेबाहेक अरू केही उपलब्धि नभएको बताए । उनले यही विमानस्थल निर्माणका बेला धेरै मजदुरले ज्यान गुमाएको भन्दै, विमानस्थल निर्माण भएर सञ्चालनमा आएको भए मृत्यु भएकाको आत्माले शान्ति पाउने पीडा पोखे ।
कालीकोटका बासिन्दा तत्काल कतै जानु परेमा वा बिरामी भएमा हेलिकोप्टर खोज्नुको विकल्प छैन । विमानस्थल सञ्चालनमा आएमा दैनिक सुर्खेत, नेपालगञ्ज जानेका लागि सहज हुने विष्टले बताए ।
जहाज औपचारिक उदघाटन भएपछि यहाँका नागरिकले अब दैनिक हवाईजहाज चढ्ने आस गरेका थिए तर १४ महिनासम्म पनि विमान फर्केर नआएपछि सबै निराश भएको अर्का बासिन्दा निर्माण विष्टले बताए ।
उता नरहरिनाथ गाउँपालिकाले जहाज नियमित नभए पनि हप्ताको एक दिन विमान अवतरणका लागि पहल गरेको थियो । भाडादरमा सहुलियत दिने पनि पालिकाले योजना बनाएको थियो तर त्यसले पूर्णता पाएन । नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले नेपाल एयरलाइन्सको जहाजले तीन हजार ९५० मा उडान भर्ने सहमति भए पनि उक्त जहाज ग्राउन्डेड भएकाले सहमति कार्यान्वयन नभएको बताए ।
उनले त्यसको विकल्पमा तारा एयरसँग कुरा भएको तर तारा एयरलगायतका निजी कम्पनीले भाडा पाँच हजार छ सय रुपैयाँ हुनुपर्ने र तीन हजार ९५० भएमा खाली सिटको गाउँपालिकाले रुपैयाँ तिर्नुपर्ने शर्त राखेकाले उडान गराउने विषय अलपत्र परेको जनाए । यता गाउँपालिका अध्यक्ष नगिन्द्रबहादुर विष्टले साताको एक पटक भए पनि सेवा दिएको भए सहज हुने बताए ।













Discussion about this post