सुर्खेत बैशाख २८ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजबिजका आधारमा योजना बाँड्ने काम बन्द गरेको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै उनले सरकारले तजबिजका आधारमा बजेट बाँड्ने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणालीसमेत व्यवस्थित हुने दाबी गरे ।
बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेश सभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ भन्दै उनले सरकारले तजबिजका आधारमा बजेट नबाँडी प्रदेश सभाबाट पारित कार्यक्रम मात्र कार्यान्वयन गर्ने जनाए । स्थानीय तहबाट योजनाका बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आए पनि यस पटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउँमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सुरु भएको मुख्यमन्त्री कँडेलले बताए ।
एनले भने, “योजना जाने सबै स्थानीयस्तरमै हो, लाभान्वित हुने त्यहीँ नै हो, तपाईंहरूलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिँडनु ?” आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै उनले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादनमा आधारित आयोजनाका रूपमा विशिष्टीकृत गरिने जानकारी दिए ।













Discussion about this post