बाँके वैशाख ३ गते।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित नेपालगन्ज बजार केही वर्षअघिसम्म विभिन्न पहाडी जिल्लाका बासिन्दाका लागि आवश्यक सामान खरिद गर्ने मुख्य हाटबजारका रूपमा स्थापित थियो।
त्यस समयमा रुकुम, जाजरकोट, सल्यान, दैलेखलगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण नेपालगन्ज आउने गर्दथे। स्थानीय अगुवा सनतकुमार रेग्मीका अनुसार नेपालगन्ज बजारलाई त्यतिबेला ‘खसियारी बजार’ भनेर चिनिन्थ्यो भने यहाँ किनमेल गर्न आउनेलाई ‘हटारु’ भन्ने प्रचलन थियो।
हाटमा आउनेहरूका लागि बसोबासको सुविधा उपलब्ध गराउन सरकारी पहलमा सल्यानी र दैलेखी बङ्गला निर्माण गरिएको थियो। हप्तौँ हिँडेर आएका मानिसहरू त्यहीँ विश्राम गरेर किनमेल गर्थे। उनीहरूले आफ्ना क्षेत्रबाट ल्याएको घ्यू र जडीबुटी बिक्री गर्ने तथा यहाँबाट नुन, लत्ताकपडा जस्ता सामग्री लैजाने गर्दथे।
उक्त ऐतिहासिक परम्परालाई जोगाउने उद्देश्यले रुकुमेली सेवा समाज बाँकेले नेपालगन्ज–४ स्थित सल्यानी बङ्गलामा हाट आउने व्यक्तिको सम्झनास्वरूप एक प्रतिमा निर्माण गरेको छ।
समाजका अध्यक्ष दीपेन्द्र खड्काका अनुसार प्रतिमाले तत्कालीन आर्थिक तथा सामाजिक परिवेशलाई झल्काउने उद्देश्य राखेको छ। उनले यसले पुरानो इतिहासलाई जीवन्त राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतिमामा पिठ्युँमा डोको, हातमा लौरो, निधारमा नाम्लो, कम्मरमा पटुकी र नाङ्गा खुट्टाको स्वरूप प्रस्तुत गरिएको छ, जसले त्यसबेलाको जीवनशैलीलाई झल्काउँछ।
नेपालगन्ज–४ का वडा अध्यक्ष गोपाल पुनले विगतका यस्ता स्मृतिलाई संरक्षण गर्न संग्रहालय स्थापना गर्ने योजना अघि बढाइएको जानकारी दिए। उनका अनुसार हाटबजारको इतिहासलाई सिकाइको माध्यमका रूपमा विकास गर्ने तयारी भइरहेको छ।











Discussion about this post