काठमाडौं, असार २४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
उक्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–४ अन्तर्गत मिर्चौया–बन्दीपुर सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
पक्राउपछि गरिएको खानतलासीका क्रममा यादवको साथबाट घुसबापतको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ नगद, गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल फोन बरामद भएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।










Discussion about this post