बाँके, असार २६ गते ।
बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान, प्राणायाम तथा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।
कानूनी प्रक्रियामा रहेका बालकहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, आत्मविश्वास वृद्धि तथा कानूनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जयेन्दु बाल सुधार गृहले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको सहजीकरण एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक तथा अधिवक्ता वसन्त गौतमले गरेका थिए।
कार्यक्रममा बालकहरूलाई योग, ध्यान र प्राणायामका अभ्यास गराइनुका साथै बाल न्याय प्रणाली, बाल अधिकार र कानूनी प्रक्रियाबारे जानकारी दिइएको थियो।
सहभागी बालकहरूले योग र ध्यानले मानसिक शान्ति तथा सकारात्मक सोच विकास गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए। केहीले गीत र कविता प्रस्तुत गर्दै आफ्ना भावना पनि व्यक्त गरेका थिए।
कानूनी साक्षरता सत्रमा अधिवक्ता गौतमले बाल न्याय प्रणालीको सुधारात्मक अवधारणा, बाल अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तथा कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका थिए।
छलफलका क्रममा बालकहरूले उमेर मिल्दो वा आपसी सहमतिमा भएका सम्बन्धलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार अपराधको दायराभित्र नराख्ने व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले सामान्य प्रकृतिका कसुरमा सुधारात्मक उपायलाई प्राथमिकता दिनुपर्ने, डाइभर्सन, सजाय स्थगन, प्यारोल र सजाय छुटका व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने तथा आफ्ना मुद्दाको सुनुवाइमा अदालतमा उपस्थित हुने अधिकार सुनिश्चित गरिनुपर्ने माग पनि गरेका थिए।
बाल सुधार गृहका प्रमुख किशोर शर्माले योग, ध्यान र प्राणायामले बालकहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।
सहजकर्ता गौतमले बालकलाई केवल बन्द वातावरणमा राखेर मात्र सुधार सम्भव नहुने भन्दै योग, ध्यान, खेलकुद र कानूनी साक्षरताजस्ता कार्यक्रम सबै बाल सुधार गृहमा नियमित हुनुपर्ने बताए।
हाल जयेन्दु बाल सुधार गृहको क्षमता १२० जनाको भए पनि १७९ जना बालक रहेका छन्। तीमध्ये ८० जना १८ वर्षभन्दा माथिका र ९९ जना १८ वर्षमुनिका छन्। कुल १५४ मुद्दामा १७९ जना बालक कानूनी प्रक्रियामा रहेकामा ८५ जनाको फैसला भइसकेको छ भने ९४ जना पुर्पक्षमा छन्।
सुधार गृहका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका ७४ मुद्दामा ७६ जना बालक प्रतिवादी छन्। त्यसपछि कर्तव्य ज्यानका १६ मुद्दामा २६ जना, लागुऔषधका १३ मुद्दामा १४ जना तथा सामूहिक जबरजस्ती करणीका सात मुद्दामा ११ जना बालक कानूनी प्रक्रियामा रहेका छन्।
सुधार गृहका अनुसार विगतमा भागेका ११५ जनामध्ये ४७ जना अझै फरार छन्।











Discussion about this post