बाँके, साउन २५ गते ।
बाँके युनेस्को क्लबले जिल्लाका पाँच पालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्तनपानसम्बन्धी परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
जीवनका लागि पोषण परियोजनाअन्तर्गत राष्ट्रिय स्तनपान सप्ताहको अवसर पारेर बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो।
हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायको समन्वयमा कार्यक्रम गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा सुनौला १ हजार दिन अवधिका आमा तथा हेरचाहकर्ताको सहभागिता थियो। स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारी तथा पोषण परियोजनाका सहजकर्ताले स्तनपानको महत्व, जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउने अभ्यास र जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विषयमा जानकारी दिएका थिए।
६ महिना पूरा भएपछि थप आहारसँगै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने, स्तनपान गराउने सही आसन तथा सम्पर्क, कङ्गारु मदर केयर र स्तनपानका क्रममा देखिन सक्ने सामान्य समस्या तथा त्यसको समाधानबारे समेत परामर्श दिइएको थियो।
कार्यक्रममा सहभागी आमाहरूलाई स्तनपानसम्बन्धी नमुना सामग्री, फ्लिपचार्ट तथा अन्य दृश्य सामग्रीमार्फत व्यावहारिक सिकाइ गराइएको थियो। सहभागीहरूले आफ्ना अनुभव तथा समस्या राख्दै स्वास्थ्यकर्मीसँग समाधानबारे छलफल गरेका थिए।
क्लबका अनुसार कार्यक्रमको उद्देश्य आमाहरूको स्तनपानसम्बन्धी ज्ञान र आत्मविश्वास बढाउनुका साथै शिशुको उचित पोषण, वृद्धि र विकासमा सहयोग पु¥याउनु हो।
राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा गरिएको कार्यक्रमले मातृ तथा बाल पोषण सुधारका लागि स्वास्थ्य संस्था, समुदाय, स्वास्थ्यकर्मी र विकास साझेदारबीचको समन्वय तथा सहकार्यको आवश्यकता पनि औंल्याएको क्लबले जनाएको छ।










Discussion about this post