बाँके, असोज ६ गते ।
नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता सम्पन्न गरेसँगै पावरलिफ्टिङ संघ बाँकेले आगामी वर्ष पनि राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष डा. प्रतीक श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न प्रतियोगितापछि संघले बाँकेमा पावरलिफ्टिङ खेलको विकास, खेलाडी उत्पादन र राष्ट्रियस्तरका प्रतियोगितालाई निरन्तरता दिने जनाएको हो।
अध्यक्ष श्रेष्ठले नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु स्थानीय खेलाडीका लागि महत्वपूर्ण अवसर भएको बताए। नियमित प्रशिक्षण र प्रतियोगिताको अवसर उपलब्ध गराउँदै बाँकेलाई पावरलिफ्टिङको केन्द्रका रूपमा विकास गर्ने उनले बताए।
‘यो सुरुवात हो। आगामी वर्ष पनि बाँकेमा राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता गर्ने हाम्रो प्रतिबद्धता छ,’ उनले भने, ‘स्थानीय खेलाडी उत्पादन र उनीहरूको क्षमता विकासका लागि संघले निरन्तर काम गर्नेछ।’
पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका १४२ खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा पुरुषतर्फ संगम विष्ट र महिलातर्फ कुस्मा केसी ओभरअल च्याम्पियन बने।
प्रतियोगिता सफल बनाउन संघका पदाधिकारी तथा सदस्यको सक्रिय भूमिका रहेको श्रेष्ठले बताए। उनले खेलाडी, प्रशिक्षक, निर्णायक, प्रायोजक, सञ्चारकर्मी तथा सहयोगी सबैलाई धन्यवाद दिए।
संघका उपाध्यक्ष पुनमकुमारी विक, सचिव सौरभ कर्माचार्य, सह–सचिव रिहान कुरेसी र कोषाध्यक्ष किरणकुमार श्रेष्ठ छन्। सदस्यमा अनिल सिंह सिजापती, दिपेन्द्र सिंह, दिपेन्द्र शर्मा, सुरेश थापा, चन्द्र कँडेल, अमृत राना, सुनिल भाट, करन बाडिया, प्रकृति श्रेष्ठ, सिवानी पौडेल र अमित मल्ल छन्।
संघका वरिष्ठ सल्लाहकारमा लक्ष्मण केसी र लवराज श्रेष्ठ छन्। संघले आगामी वर्ष प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै बाँकेमा पावरलिफ्टिङ खेलको आधार विस्तार गर्ने जनाएको छ।











Discussion about this post