काठमाडौं, असोज ९ गते ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि तथा जीविकोपार्जनसँग जोडिएको बताए। उनले हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे।
प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्नुपर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्नुपर्ने तथा संयुक्त पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। विपद्का समयमा सीमापार सहायता समन्वय गर्न पनि संयन्त्र प्रभावकारी हुने उनले बताए।
प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए। नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उनले बताए।
नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी दिँदै उनले स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको बताए। विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई पनि बलियो बनाइरहेको उनको भनाइ थियो।
बढ्दो जलवायुजन्य विपद्सँग जुध्न नेपालले आफ्नो तयारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरे।
एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले उक्त विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए।











Discussion about this post