बाँके, असोज ११ गते ।
नेपालगन्ज पर्यटन परिषद्ले ४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल–भारत जमुनाहा नाकामा सरसफाइ गरेको छ ।
नेपालगन्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको जमुनाहा नाकामा परिषद्को संयोजनमा आइतबार सरसफाइ गरिएको हो । कार्यक्रममा नाटा बाँके च्याप्टर, होटल एसोसिएसन नेपाल (हान) बाँके, होटल व्यवसायी संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके र होटल कल्पतरुको सहकार्य रहेको थियो ।
भारतलगायत तेस्रो मुलुकबाट नेपालगन्ज भित्रिने पर्यटकलाई स्वच्छ वातावरणमा स्वागत गर्ने उद्देश्यले नाकामा सरसफाइ गरिएको नेपालगन्ज पर्यटन परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताए ।
‘भारतबाट ठूलो संख्यामा पर्यटक नेपाल आउने भएकाले सीमा नाकाबाटै सफा र स्वच्छ वातावरणमा स्वागत गर्न सके सकारात्मक सन्देश जान्छ,’ उनले भने, ‘त्यही उद्देश्यले सरसफाइ कार्यक्रम गरेका हौँ ।’
पर्यटकसँग राम्रो र सम्मानपूर्ण व्यवहार गर्न जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीलाई आग्रह गरिएको न्यौपानेले बताए । सरसफाइ कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी र सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।
पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन, विकास र संरक्षणसँगै पर्यटन व्यवसायीबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले नेपालगन्ज पर्यटन परिषद् गठन गरिएको हो । परिषद्मा होटल संघ नेपाल, होटल व्यवसायी संघ बाँके र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) बाँके च्याप्टर संस्थागत सदस्य छन् ।
भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याएर बाँके र बर्दियासहित स्वर्गद्वारी, रारा ताल र मानसरोवरसम्म पु¥याउने लक्ष्य परिषद्ले लिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।










Discussion about this post