बाँके, असोज १५ गते ।
लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न नेपालगन्जमा गरिएको लापसे चेकिङका क्रममा पाँच जनाको लागू पदार्थ सेवन परीक्षण पोजेटिभ देखिएको छ। चेकिङकै क्रममा ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्।
नेपालगन्ज उपमहानगरपालिका–१० गणेशमान चोकस्थित नेपालगन्ज–भन्सार सडकखण्डमा बिहीबार गरिएको चेकिङका क्रममा ४० वटा सवारी साधनका चालक तथा सहचालकको ड्रग टेस्ट किटमार्फत लागू पदार्थ सेवन परीक्षण गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार परीक्षणमा तीन जना ई–रिक्सा चालक, एक जना मोटरसाइकल चालक र एक जना सवार गरी पाँच जनामा लागू पदार्थ सेवनको नतिजा पोजेटिभ देखिएको थियो।
लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले लापसे परीक्षणलाई नियमित बनाइएको शाहीले बताए। ‘लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा चालकको नियन्त्रण क्षमता कमजोर हुन्छ,’ उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढाउने भएकाले सडक सुरक्षा र सुरक्षित यात्राका लागि लापसे परीक्षणलाई नियमित बनाउँदै लगेका छौं।’
पोजेटिभ देखिएका पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए।
चेकिङकै क्रममा भे ७ प २६४७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले लागू औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ का २० वर्षीय सन्देश कार्की र भैरवी गाउँपालिका–१ का १८ वर्षीय पवन विष्ट छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३ ग्राम ५७० मिलिग्राम तौलको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको छ। उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। बरामद पदार्थ ब्राउन सुगर नै भए वा नभएको यकिन गर्न आवश्यक परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा चेकिङ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले चेकिङका क्रममा पाँच जनाको लागू पदार्थ सेवन परीक्षण पोजेटिभ देखिएको बताए। पक्राउ परेका व्यक्तिहरू तथा बरामद पदार्थका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
लागू पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रणसँगै सवारी साधनमार्फत लागू औषधको ओसारपसार तथा प्रयोग रोक्न नियमित चेकिङलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।










Discussion about this post