बाँके, असोज २१ गते ।
दसैँतिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। पछिल्लो समय नेपालगन्जस्थित जमुनाहा नाकाबाट घर फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनहुँ बढिरहेको बताए। उनका अनुसार अहिले जमुनाहा नाकाबाट दैनिक ५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्।
“बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ। प्रत्येक दिन ५ हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्,” उनले भने।
भट्टराईका अनुसार भारतको नयाँ दिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली दसैँतिहार मनाउन घर फर्किरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा स्वदेश फर्किनेको सङ्ख्या अझ बढ्ने उनले बताए।
भारतबाट फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा ठगी, लुटपाट तथा अलपत्र पर्ने समस्या हुन नदिन नेपाल प्रहरीले निगरानी र समन्वय बढाएको उनले बताए। रिक्साचालक, ई–रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी भइरहेको उनले बताए।
“सीमावर्ती क्षेत्रमा उनीहरूमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको छ,” उनले भने।
भारतको रुपैडियामा रातिको समयमा आइपुग्ने नेपालीलाई असहजता नहोस् भनेर भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जमुनाहा प्रहरीले जनाएको छ। रुपैडियामा रिक्साचालकबाट हुने ठगी तथा अन्य आपराधिक गतिविधि रोक्न भारतीय प्रहरीलाई आवश्यक समन्वयका लागि अनुरोध गरिएको भट्टराईले बताए।
स्वदेश फर्किने नेपालीको सहजताका लागि जमुनाहा नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ। भारतबाट आउने नेपालीलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
भारतको सिमलाबाट सुर्खेतको रामघाट फर्किएका रमेश विकले गत वर्ष दसैँमा जेनजी आन्दोलनका कारण घर फर्किन नसकेको बताए। यसपटक आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा भएकाले समयमै घर फर्किएको उनले बताए।
दैलेखको डुङ्गेश्वरका महेश थापाले पनि दसैँतिहारजस्ता चाडपर्व आफ्नै गाउँठाउँमा मनाउँदा छुट्टै आनन्द हुने भएकाले भारतबाट घर फर्किएको बताए।
चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेसँगै जमुनाहा नाकामा यात्रुको चापसमेत बढेको छ। प्रहरीले सीमावर्ती क्षेत्रदेखि नेपाल प्रवेश गरेपछि गन्तव्यसम्म पुग्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर निगरानी र समन्वयलाई निरन्तरता दिएको जनाएको छ।










Discussion about this post