बाँके, असोज २७ गते ।
विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को अवसरमा अग्रगामी मोर्चा, बाँकेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लास्तरमा मोर्चाको पहिलो बैठकसमेत रहेको कार्यक्रममा आपसी एकता, सहकार्य, सामाजिक सद्भाव र साझा राजनीतिक उद्देश्यका विषयमा छलफल गरिएको थियो।
नेपालगन्जस्थित जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रम जिल्ला अध्यक्ष कौशलकुमार धोवीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख कमरुद्दिन राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले अग्रगामी मोर्चालाई प्रभावकारी बनाउन आपसी एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताए। सामाजिक न्याय, समानता, पहिचान र अधिकारका सवालमा साझा समझदारी कायम गर्दै जनताका मुद्दामा सक्रिय रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। साथै, विविधतायुक्त नेपाली समाजमा सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव, सम्मान र भाइचारा कायम राख्न उनले आग्रह गरे।
त्यसैगरी, जसपा नेपालकी केन्द्रिय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले संघीयता, संवैधानिक व्यवस्थाको कार्यान्वयन तथा पहिचान र अधिकारको संरक्षणमा अग्रगामी मोर्चाले भूमिका निर्वाह गर्ने बताइन्।
केन्द्रमा गठन भइसकेको मोर्चालाई जिल्लास्तरमा समेत एकताबद्ध रूपमा अघि बढाउँदै साझा उद्देश्य प्राप्तिका लागि सम्बन्धित राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा उनले जोड दिइन्।
“संघीयता, संवैधानिक व्यवस्था तथा पहिचान र अधिकारको संरक्षणका लागि हामी सबै एकजुट भएर सशक्त रूपमा अगाडि बढ्नुपर्छ,” उनले भनिन्, “प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संघीयता र पहिचानको आन्दोलनलाई अघि बढाउनु अग्रगामी मोर्चाको प्रमुख उद्देश्य हो।”
नौवटा राजनीतिक दलको सहकार्यमा अघि बढेको मोर्चाले आपसी एकता, समन्वय र सहकार्यका माध्यमबाट आफ्ना उद्देश्य प्राप्तिका लागि काम गर्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य रेखा गुप्ता, रेखा जैसवाल, सन्ध्या देव, रेखा झा, माजिद अली शेष, विष्णुकुमार तमोली, अयोध्या प्रसाद वर्मा, केशवराम राठलगायतको उपस्थिति थियो। त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–२२ का वडाध्यक्ष अब्दुल गफ्फार हलवाई र वडा नं. १४ का वडाध्यक्ष मजहर साईलगायत सहभागी थिए।
कार्यक्रममा सहभागी नेताहरूले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता अभिवृद्धि गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे। कार्यक्रमको सञ्चालन जसपा नेपाल, बाँकेका जिल्ला सचिव सूर्यलाल यादवले गरेका थिए।












Discussion about this post