बाँके, असोज २८ गते ।
दसैँसँगै नेपालगन्जका चोक, गल्ली र चौराह दुर्गा मूर्तिले झकिझकाउ बनेका छन् । बिहानैदेखि अबेर रातिसम्म हुने पूजाआजा र भजनकीर्तनले सहर दसैँमय बनेको छ । एउटै टोलमा दुईतीनवटासम्म दुर्गा मूर्ति स्थापना गरिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार सहरमा करिब चार सयको हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएका छन् । घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिको सप्तमीमा आँखाको पट्टी खोल्ने र दसैँभरि पूजाआजा गरेपछि विजयादशमीको भोलिपल्ट एकादशीमा राप्ती नदीमा विसर्जन गर्ने परम्परा छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यका अनुसार दुर्गा मूर्ति स्थापना भएपछि राति अबेरसम्म जाग्राम बसेर देवीको आराधना गर्ने चलन छ । धार्मिक मान्यता र परम्परासँग जोडिएको मूर्ति पूजाले दसैँको उमङ्ग थप्ने गरेको उनले बताए ।
चोकचोकमा हुने पूजाआजा र भजनकीर्तनमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भइरहेका छन् । रातिसम्म बजारका चोकमा घुम्ने र रामलीला हेर्ने परम्पराले पनि सहरमा चहलपहल बढाएको छ ।
नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा र कोहलपुरका विभिन्न गाउँमा पनि दुर्गा पूजाको रौनक छाएको छ । दुर्गा मूर्ति र पूजास्थलको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगूर जिसीले बताए ।










Discussion about this post