काठमाडौें, मंसिर ४ गते ।
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष गरेको छ ।
शुक्रबार आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए । तर, उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन निर्देशन दिएर बैठकस्थलबाट बाहिरिएका थिए ।
छलफलका क्रममा नेकपा संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार उनले आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त रहेको उल्लेख गर्दै यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा बनाउने बताएका छन् ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी २०८४ वैशाख ३० गते स्थानीय तहमा र मंसिरमा प्रदेशसभातर्फ पूरा हुँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । यसअनुसार अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।
आयोगले प्रस्तुत गरेको प्रस्तावित समयतालिकाबारे राजनीतिक दलहरूको धारणा र आवश्यक परामर्शपछि निर्वाचनको मिति तथा समयतालिका टुंगो लगाइनेछ ।










Discussion about this post