बाँके फागुन १२ गते ।
भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा नेपालगन्जको जमुनाह नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएपछि भोली शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ । आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने एसपी अधिकारीको भनाइ छ ।
निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच समेत कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।
Discussion about this post