बाँके, साउन २७ गते ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्ज–९ स्थित सरस्वती प्राथमिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
गणपति डेन्टल क्लिनिक र रोशन मेटल क्राफ्ट इन्डस्ट्रीजको आयोजनामा तथा विद्यालयको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा बालबालिकालाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठले बालबालिकाको शिक्षा र सर्वाङ्गीण विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए। उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शकुन्तला श्रेष्ठ र प्रधानाध्यापक वीरजंग शाहले बालबालिकाका लागि सामग्री सहयोग गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरे। उनीहरूले यस्ता सहयोगले बालबालिकाको सिकाइ, क्षमता विकास र अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने बताए।
कार्यक्रममा समाजसेवी रोशन मलिक जसगर, अनिल सिजापती, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष श्रेष्ठ, प्रधानाध्यापक शाह तथा शिक्षक–शिक्षिकालगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा, क्षमता विकास र सामाजिक समावेशिताका लागि स्थानीय समुदाय, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।










Discussion about this post