बाँके, भदौ १९ गते ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै नेपालगन्जमा शुक्रबार आत्मशान्ति दीप प्रज्वलन तथा हवन गरिएको छ।
श्रीकृष्ण जन्माष्टमी समिति परिवार बाँके, नेपालगन्जको आयोजनामा त्रिभुवन चोकमा दीप प्रज्वलन तथा हवन गरिएको हो। समितिले विगत ५० वर्षदेखि श्रीकृष्ण जन्माष्टमीका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।
यस वर्ष भने भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विगतमा जस्तो भव्य कार्यक्रम नगरी सामान्य रूपमा जन्माष्टमी मनाइएको समितिले जनाएको छ।
समितिका अध्यक्ष नन्दलाल वैश्यले विपद्को दुःखद अवस्थामा उत्सवभन्दा दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रमलाई सामान्य बनाइएको बताए।
‘हाम्रो समितिले ५० वर्षदेखि निरन्तर रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएको छ। तर, यसपटक बाढीका कारण धेरै परिवार शोकमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा भव्य कार्यक्रम गर्नु उचित नलागेकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन र हवन गरेका हौँ।’
धार्मिक आस्थासँगै मानवीय संवेदनालाई पनि जोडेर हेर्नुपर्ने उनले बताए। ‘विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु र प्रभावित परिवारलाई सक्दो सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,’ उनले भने।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नेता सुधांशु कोइरालालगायत सहभागी थिए।
यसैबीच, समितिले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ। उक्त रकम सहायक प्रमुख जिल्ला अधिकारी खत्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको अध्यक्ष वैश्यले बताए।
समितिले यसपटकको जन्माष्टमीलाई धार्मिक उत्सवसँगै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउने अवसरका रूपमा मनाएको जनाएको छ।










Discussion about this post