बाँके, असोज ५ गते ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुमानमा आधारित पूर्व कार्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले ‘पूर्वानुमानमा आधारित पूर्व कार्य राष्ट्रिय कार्यढाँचा–२०८३’ बारे प्रस्तुतीकरण गरेका थिए ।
शर्माले विपद्बाट हुने जनधन तथा वातावरणीय क्षति न्यूनीकरण गर्न पूर्वानुमानमा आधारित पूर्व कार्यलाई सुदृढ बनाउने उद्देश्यले कार्यढाँचा तयार गरिएको बताए । आसन्न विपद्का बेला पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै संघीय शासन संरचनाअनुसार बहुस्तर, अन्तरनिकाय तथा विकास साझेदारबीच सहकार्य र समन्वयमार्फत पूर्व कार्य सञ्चालन गर्ने व्यवस्था कार्यढाँचाले गरेको उनले बताए ।
उनका अनुसार बाढी आउनुअघि नै जोखिममा रहेका समुदायलाई पूर्वसूचना तथा पूर्वचेतावनी दिने, उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र अस्थायी आश्रयस्थलमा आवश्यक सेवा उपलब्ध गराउने योजना छ ।
अस्थायी आश्रयस्थलमा खानेपानी, सरसफाइ तथा स्वच्छता, नगद सहायता लगायतका आवश्यक सेवा उपलब्ध गराउने गरी पूर्व तयारी गरिने उनले बताए ।
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्यसम्बन्धी कार्यक्रम बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन भइरहेको छ ।
अभिमुखीकरण कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटीका पालिका शाखाका संयोजक, गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा नेरेसो बाँके जिल्ला कार्यसमितिका पदाधिकारी र कर्मचारी सहभागी थिए ।
नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वरी वर्मा र नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक प्रमोद अधिकारीले गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले गरेका थिए ।











Discussion about this post