बाँके, असोज ५ गते ।
लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि संशोधन गरी छापा सञ्चारमाध्यमले पाउँदै आएको विज्ञापन रकममा कटौती गरिएको भन्दै नेपाल पत्रकार महासंघ बाँकेले जिल्ला हुलाक कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लोककल्याणकारी विज्ञापनका लागि विनियोजित रकम वृद्धि गर्ने व्यवस्था गरिएको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरी लागू गरिएको बताए।
संशोधित कार्यविधिका कारण छापा सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती भएको उनले बताए। “बजेटबाट रकम वृद्धि गर्ने व्यवस्था भए पनि त्यससँग बाझिने गरी कार्यविधि ल्याइनुले सञ्चारमाध्यमप्रति सरकारको अनुदार व्यवहार देखिएको छ,” उनले भने।
कार्यविधि खारेजीको माग गर्दै महासंघले आन्दोलनका कार्यक्रम अघि बढाएको उनले बताए। विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै संशोधित कार्यविधिअनुसार विज्ञापनबापतका बिल बुझ्ने कार्य जारी राखेको भन्दै महासंघले असहमति जनाएको गिरीले बताए।
“कार्यविधि खारेज गर्न र संशोधित कार्यविधिअनुसारका बिल नबुझ्न दबाब दिने उद्देश्यले विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेका छौं,” उनले भने।
महासंघको निर्णयअनुसार सोमबार केन्द्रीय समिति र जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला हुलाक कार्यालयमा ज्ञापनपत्र बुझाउँदै संशोधित कार्यविधिअनुसारका बिल नबुझ्न आग्रह गरेका छन्।
महासंघ बाँकेले मंगलबारदेखि जिल्ला हुलाक कार्यालयले विज्ञापनबापतको बिल बुझ्ने कार्य नरोकिए तालाबन्दीसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
महासंघले संशोधित कार्यविधि खारेज गरी आर्थिक वर्ष २०८३/८४ को बजेटमा व्यवस्था भएअनुसार लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराउन माग गरेको छ।













Discussion about this post