बाँके, असोज ७ गते ।
बाँकेको कोहलपुरमा अनलाइनमार्फत जुवा तथा सट्टाबाजी भइरहेको अवस्थामा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४६ भारतीय र दुई नेपाली नागरिक छन्।
कोहलपुर नगरपालिका–११ न्युरोडस्थित होटल म्याक्समा अनलाइनमार्फत जुवा तथा सट्टाबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी प्रतित सिंह राठौरले जुवा तथा सट्टाबाजीमा संलग्न रहेको आरोपमा ४८ जनालाई पक्राउ गरिएको बताए। उनीहरूको साथबाट जुवा तथा सट्टाबाजीमा प्रयोग भएका सामग्रीसमेत बरामद भएको उनले बताए।
प्रहरीले २८ थान ल्यापटप, विभिन्न कम्पनीका ८१ थान मोबाइल र १६ थान नोटबुक बरामद गरेको राठौरले जानकारी दिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
कोहलपुरमा ठूलो संख्यामा मानिस पक्राउ परेपछि नेपालगन्जमा समेत अनलाइन जुवा तथा सट्टाबाजीका गतिविधिमाथि निगरानी बढाउनुपर्ने स्थानीयले बताएका छन्। होटल तथा अन्य सम्भावित स्थानमा हुने यस्ता गतिविधिमाथि प्रहरीले निगरानी बढाउनुपर्ने उनीहरूको माग छ।
स्थानीयले नेपालगन्जमा समेत यस्ता गतिविधि भइरहेको भए तत्काल पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।













Discussion about this post