बाँके चैत २३ गते।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ। यस निर्णयसँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र कार्यरत चिकित्सकहरूले अब आफ्नै मूल दरबन्दी भएको अस्पतालमा फर्किएर सेवा दिनुपर्ने भएको छ।
सोही क्रममा पश्चिम नेपालको महत्त्वपूर्ण सरकारी अस्पताल भेरी अस्पतालमा दरबन्दी रहेका ६ जना विशेषज्ञ चिकित्सकको काज पनि मन्त्रालयले फिर्ता गरेको अस्पताल प्रशासनले जनाएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार काज फिर्ता गरिएका चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. वसन्त रेग्मी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सुजन ढकाल, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रविन्द्र बास्कोटा, कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रकाश पुन, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सविता विश्वकर्मा, कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. निरज भट्टराई र वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेन्द्र बस्नेत रहेका छन्।
उनका अनुसार डा. रेग्मी लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. ढकाल कोशी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. बास्कोटा स्वास्थ्य सेवा विभाग, काठमाडौँ, डा. पुन लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा डा. विश्वकर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा काजमा कार्यरत थिए।
त्यसैगरी, डा. भट्टराई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तथा डा. सुरेन्द्र बस्नेत सुदूरपश्चिम प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा थिए। डा. बस्नेत भने यसअघि नै साविक दरबन्दी रहेको भेरी अस्पतालमा फर्किसकेका छन्।
मन्त्रालयले विभिन्न प्रदेश तथा निकायमा काजमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मूल दरबन्दीमा फर्काउने नीति अवलम्बन गरेको छ। सोहीअनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको काज फिर्ता गरिँदै आएको छ।
भेरी अस्पताल विकास समितिले लामो समयदेखि काजमा रहेका कर्मचारीलाई दरबन्दीमा फर्काउँदा सेवा प्रवाह थप प्रभावकारी हुने, जनशक्ति व्यवस्थापन सुदृढ हुने र संस्थागत जिम्मेवारी निर्वाह गर्न सहज हुने जनाएको छ।
समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार काज फिर्ता गरिएका चिकित्सकहरूलाई मन्त्रालयले सम्बन्धित कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको छ। साथै, निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई पनि मन्त्रालयले निर्देशन दिएको उनले बताए।
भेरी अस्पतालका प्रमुख डा. सुवेदीले सरकारको यस कदमले अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्। विशेषगरी विशेषज्ञ चिकित्सकको अभाव रहेको भेरी अस्पताललाई यस निर्णयबाट उल्लेखनीय लाभ पुग्ने विश्वास गरिएको छ।










Discussion about this post