बाँके वैशाख १७ गते ।
बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताका लागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ।
प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत उक्त कार्यशाला आयोजना गरिएको हो। क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवर्द्धन गर्नु तथा स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु रहेको थियो। साथै हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए।
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा अन्य स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। निजी क्षेत्रबाट उद्योग वाणिज्य संघ तथा सहकारी संस्थाका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति रहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार विनय दिल लामा, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, परियोजना संयोजक राजकुमार खड्का तथा फिल्ड सुपरभाइजर सञ्जिता रिजालको सहभागिता रहेको थियो। प्राविधिक सल्लाहकार लामाले वर्तमान व्यावसायिक वातावरणका चुनौती, अवसर र व्यवहारिक समाधानबारे प्रस्तुति दिँदै बहुसरोकारवाला सहकार्यको आवश्यकता औंल्याए।
त्यस्तै, परियोजना संयोजक खड्काले परियोजनाको उद्देश्य, प्रगति तथा उपलब्धिबारे जानकारी गराउँदै सहभागीहरूबाट सुझाव संकलन गरेका थिए।
कार्यक्रमको समापनमा नगर प्रमुख थारुले सहभागीहरूको सक्रियताप्रति आभार व्यक्त गर्दै यस्ता रोजगारीमुखी पहलहरूले स्थानीय अर्थतन्त्र सुदृढ बनाउनुका साथै युवाको वैदेशिक पलायन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले युवाका लागि अवसर सिर्जना गर्न साझेदार संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।
क्लबका अनुसार उक्त कार्यशालालाई सहकार्य, प्रतिबद्धता र साझा दृष्टिकोणमार्फत सशक्त युवा र दिगो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।










Discussion about this post