बाँके जेठ २६ गते ।
लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित बनेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको अनैतिक र स्वेच्छाचारी कदमप्रति जसपा नेपालले आपत्ति जनाएपछि अहिरको सपथ ग्रहण विवादित बनेको हो ।
जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले एक विज्ञप्ति जारी गरि अदालतको फैसला लगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराउँदा गराउँदै लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता गठबन्धनका मुख्यमन्त्री चेतनारायण आचार्यले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्यालै नगरी जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराउनु कानुनी राज्यको उपहास मात्र होइन, लोकतन्त्रमाथिको नाङ्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा भएको बताएका छन् ।
‘मुख्यमन्त्रीको यो हर्कत घोर अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रूपमा अत्यन्तै निन्दनीय छ । हामी यसको कडा शब्दमा भत्र्सना गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग समेत गरिएको छ । ‘हाम्रो यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिए सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँ विरुद्ध लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले–कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछौं,’ प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाले राजनीतिक जालझेलबाट खडा गरिएको कथित ‘जसपा’ लाई अवैध ठहर गरि जनता समाजवादी पार्टी, नेपालको वैधानिकता प्रदान गरिसकेको तथ्य औँल्याउँदै उनले अदालतको फैसलासँगै दल विभाजनको गैरकानुनी प्रपञ्च स्वतः खारेज भएको दावी सुमनले दावी गरेका छन् । ‘सर्वोच्चको फैसलाले सम्पूर्ण जनप्रतिनिधि र नेता–कार्यकर्ताहरू कानुनी रूपमा जसपा, नेपालकै मातहत र दलीय अनुशासनमा बाँधिएका छन् । संवैधानिक र कानुनी वस्तुस्थितिको धज्जी उडाउँदै अहिरलाई मन्त्री पदको सपथ ग्रहण गराउनु गैर कानूनी भएको हाम्रो ठहर छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।
मुख्यमन्त्री आचार्यले सोमवार अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।












Discussion about this post