बाँके, असार २१ गते ।
नेपालगन्जको जमुनाहा नाका यतिबेला एउटा प्रश्नको केन्द्र बनेको छ– कडाइ कसका लागि ? सर्वसाधारणका लागि कि तस्करका लागि ?
भारतबाट घरायसी प्रयोजनका लागि किनमेल गरेर फर्किने सर्वसाधारणलाई सीमामै रोक्ने, केरकार गर्ने र सामान खोस्ने जस्ता गतिविधि सुरक्षाकर्मीका लागि सामान्यजस्तै बनेको छ। तर, त्यही समयमा नेपालगन्ज बजारका गल्ली–गल्लीमा भन्सार नतिरी भित्रिएका भारतीय सामान खुलेआम बिक्री भइरहेका छन् । यसले सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
भारतबाट दुई किलो आँप किनेर फर्किएका एक स्थानीयले सीमामा आफूले भोगेको अपमानजनक अनुभव सुनाए। ’हामीले घरका लागि दुई किलो आँप ल्याउँदा पनि यति धेरै दुःख दिइन्छन् । तर नेपालगन्ज बजारभरि भारतीय आँप छ्यापछ्यापी कसरी बिक्री भइरहेको छ ? साना उपभोक्तामाथि मात्रै कडाइ गर्ने हो भने ठूलो परिमाणमा आउने सामान कसरी भित्रिन्छ ?’ उनले भने, ’नाकामा खटिएका सुरक्षाकर्मी र सम्बन्धित निकायको मिलेमतोबिना यस्तो सम्भव देखिँदैन ।’ जमुनाहा नाकाबाट आँप ल्याउन नपाउने उपभोक्ता नेपालगन्ज बजार पुग्दा भने भारतीय आँप जताततै देख्छन् । त्रिभुवन चोकदेखि विभिन्न बजार क्षेत्रमा साइकल, ठेला र पसलमा भारतीय आँप खुलेआम बिक्री भइरहेको छ।
त्रिभुवन चोकमा आँप बिक्री गरिरहेका एक व्यापारीले समेत सुरक्षाकर्मीलाई रकम बुझाएर सामान ल्याउने गरेको स्वीकार गरे । यदि यो दाबी सत्य हो भने सीमामा देखाइने कडाइ सर्वसाधारणका लागि मात्रै भएको आशंका बलियो बन्छ। सरकार परिवर्तनसँगै सीमा नाकामा कडाइ बढाइएको दाबी गरिए पनि त्यसको प्रत्यक्ष असर तस्करी नियन्त्रणभन्दा बढी सर्वसाधारणमाथि परेको देखिन्छ। पहिले आफैँ भारतबाट किनेर ल्याउने उपभोक्ता अहिले बजारको भर पर्न बाध्य छन्। त्यसको प्रत्यक्ष असर मूल्यमा परेको छ। भारतको नवाबगन्जमा भारु २०० (नेरु ३२० रुपैयाँ) मा पाइने पाँच किलो आँप नेपालगन्ज आइपुग्दा एक हजार रुपैयाँ सम्ममा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।’ बालबच्चाले आँप खान खोज्छन्। नाकाबाट ल्याउन दिँदैनन्।
अन्तिममा यही बजारबाट तीन गुणा महँगोमा किन्नुपरेको छ।’ स्थानीयको आरोप छ, अहिलेको व्यवस्था तस्करी रोक्नभन्दा पनि बिचौलिया र अवैध कारोबारीलाई फाइदा पुग्ने गरी सञ्चालन भइरहेको छ।
आफैँ किनेर ल्याउने बाटो बन्द भएपछि उपभोक्ता महँगो मूल्यमा बजारबाट किन्न बाध्य छन्। यसले प्रतिस्पर्धा घटाएको छ भने बिचौलियाको एकाधिकार बढेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार, सीमा नाकामा नियम–कानुनको नाममा सर्वसाधारणलाई दुःख दिने तर ठूलो परिमाणमा हुने अवैध कारोबारमा प्रभावकारी नियन्त्रण नहुनुले सुरक्षा निकाय र सम्बन्धित निकायप्रतिको विश्वास कमजोर बन्दै गएको छ।
सीमामा खटिएका निकायले कडाइ त गरिरहेका छन्। तर नागरिकको प्रश्न उही छ यदि नाकाबाट केही पनि छिर्न दिइँदैन भने नेपालगन्जका बजारमा भारतीय फलफूल, खाद्यान्न र अन्य सामान यति सहज रूपमा कसरी पुगिरहेका छन् ?











Discussion about this post