काठमाडौें, साउन २६ गते ।
जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी छन्। उनी ग्याटस्बी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत हुन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढाथोकीले सञ्चालन गर्दै आएको कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ। जापान पठाउने आश्वासन दिएर रकम लिए पनि प्रक्रिया अघि नबढाएको भन्दै उनीविरुद्ध उजुरी परेको प्रहरीको भनाइ छ।
बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा रकम लेनदेन र जापान पठाउने भनिएका व्यक्तिहरूसँग गरिएको सम्झौता तथा अन्य कागजातबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।













Discussion about this post