बाँके, असोज १४ गते ।
नेपालगन्जमा १८ वर्षीय युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा एक महिना बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै पीडितका बुबाले प्रहरीप्रति असन्तुष्टि जनाएका छन्।
नेपालगन्ज उपमहानगरपालिका–११ का व्यवसायी विजयकुमार वैश्यले घटना भएको लामो समय बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै प्रहरीको अनुसन्धानप्रति प्रश्न उठाएका छन्। सुरुमा प्रहरीले जाहेरी लिन नमानेको र मुद्दा दर्ता भएपछि पनि आरोपी पक्राउ गर्न चासो नदिएको उनको आरोप छ।
वैश्यका अनुसार भदौ १३ गते साँझ करिब ६ बजे उनका १८ वर्षीय छोरा श्लोक वैश्य पसलमा बसेका थिए। उनी खाना खान गएको समयमा मोटरसाइकलमा आएका तीन जनाको समूहले छोरालाई पसलबाट बाहिर निकालेर कुटपिट गरेको र खुकुरी प्रहार गरेको वैश्यले बताए।
घटनामा छोरा गम्भीर घाइते भएको उनले बताए।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले सामान्य चोटपटकको घटना भन्दै ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी लिन नमानेको वैश्यले बताए।
“खुकुरीको प्रहार अझै एक इन्च गहिरो भएको भए मेरो छोराको ज्यान जान सक्थ्यो,” उनले भने, “यस्तो गम्भीर घटना हुँदा पनि प्रहरीले सुरुमा जाहेरी लिन मानेन।”
प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा गएर जाहेरी दिएको र त्यसपछि मात्रै प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको उनले बताए।
मुद्दा दर्ता भएको पनि एक महिना पुग्न लाग्दा आरोपी पक्राउ नपरेको भन्दै उनले प्रहरीको भूमिकामाथि प्रश्न उठाए। प्रहरी प्रमुखले आरोपी पक्राउ गर्न निर्देशन दिए पनि मुद्दा फाँटका प्रहरीले चासो नदिएको उनको आरोप छ।
“एक महिनादेखि प्रहरी कार्यालय धाइरहेको छु। अहिलेसम्म न्याय पाउन सकेको छैन,” उनले भने, “घटनामा संलग्नहरू नेपालगन्जमै घुमिरहेको प्रहरीलाई थाहा छ। तर, उनीहरूलाई पक्राउ गरिएको छैन।”
बीच सडकमा खुकुरी प्रहार भएको घटनामा प्रहरी बेखबर रहेको भन्दै उनले प्रश्न उठाए। घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न उनले माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले भने घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको बताए। आरोपीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको उनले बताए।
“मुद्दा दर्ता भइसकेको छ। पक्राउ पुर्जी पनि जारी भएको छ,” राठौरले भने, “आरोपीको खोजतलास तीव्र बनाएका छौँ।”
आरोपी भारततर्फ गएको सूचना प्राप्त भएको उनले बताए। त्यसका आधारमा पनि प्रहरीले खोजतलास गरिरहेको उनको भनाइ छ।
“उनीहरू भारततिर भागेको सूचना प्राप्त भएको छ। खोजतलास निरन्तर जारी छ,” उनले भने, “पक्राउ परेलगत्तै कानुनी कारबाही अघि बढाउँछौँ।”










Discussion about this post